चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको चालु खाता उल्लेख्य रूपमा बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोड डलरले बचतमा रहेको चालु खाता चालु आवको ६ महिनामा बढेर ३ अर्ब ३ करोड डलरले बचतमा पुगेको छ।यस्तै, ६ महिनाको अवधिमा मुलुकको शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको ६ महिनामा बढेर ३ अर्ब ५४ करोड डलरले बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










