कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनसक्ने दुरुपयोग रोक्न निर्वाचन आयोगले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।
निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच बिहीबार सम्पन्न समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा निर्माण भएको सकारात्मक वातावरणलाई धमिलिन नदिन यो ऐतिहासिक सम्झौता महत्वपूर्ण हुने बताए।टिकटकसँगको समझदारीपछि सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घन तथा मिथ्या सूचना नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ। टिकटकले निःशुल्क रूपमा निर्वाचनसम्बन्धी दुरुपयोग रोक्न सहयोग गर्न लागेकोमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले धन्यवाद व्यक्त गरे।समारोहमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए।
यस साझेदारीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न, निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सूचना सर्वसाधारणसम्म पुर्याउन तथा भ्रामक र हानिकारक सामग्री नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास आयोगले गरेको छ। साथै, निर्वाचनको स्वच्छता प्रवर्द्धन र आयोगको क्षमता अभिवृद्धिमा टिकटकले सहयोग गर्ने जनाएको छ।

Online Arthik










