डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाको खुद नाफा ४४ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८०.२९ प्रतिशतले बढी हो।
ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको सुधारले नाफा वृद्धिलाई टेवा दिएको छ। यस अवधिमा खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ नाघेको छ। तर, शुल्क तथा कमिशन आम्दानीमा भने केही गिरावट देखिएको छ। नाफा सूचकहरू सकारात्मक भए पनि खराब कर्जा अनुपात ६.०९ प्रतिशतबाट बढेर ८.४३ प्रतिशत पुगेको छ, जसले ऋण जोखिम बढ्दो अवस्थामा रहेको संकेत गर्छ। सम्भावित जोखिम न्यूनीकरणका लागि संस्थाले १ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।यसैबीच, सीडी रेसियो ११५.६२ प्रतिशत पुगेको छ। बेस रेट र कस्ट अफ फण्ड घट्दा स्प्रेड दर ७.८३ प्रतिशत पुगेको छ, जसले आगामी दिनमा ब्याज आम्दानीलाई सहयोग पुग्ने देखिन्छ।
वितरणयोग्य मुनाफा १०१.८४ प्रतिशतले बढेर ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता ४५.७० प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी (ईपीएस) ४७.४१ रुपैयाँ पुगेको छ। साथै, प्रतिसेयर नेवटर्थ २२१.१३ रुपैयाँ, तरलता अनुपात ५.२० प्रतिशत र पीई रेसियो १७.४२ गुणा रहेको छ।

Online Arthik










