नबिल इन्भेष्टमेन्टले १५ औँ वर्षको सफल र उत्कृष्ट सेवा अवधि पूरा गर्दै आज १६ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आज माघ २३ गते नक्सालस्थित नारायणचौरको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
विसं २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेष्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थापनादेखि हालसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता तथा ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ।
बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै आएको कम्पनीले दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको जनाएको छ। नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिष्ट्रार सेवा, सेयर प्रत्याभूति सेवा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। त्यसैगरी, इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष सम्बन्धी सेवा तथा संस्थागत परामर्श सेवा जस्ता विविध र गुणस्तरीय सेवाहरू उपलब्ध गराउँदै आएको छ। यसका अतिरिक्त, कम्पनीले आफ्ना ग्राहकहरूका लागि संस्थागत परामर्श सेवाअन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन (M&A) तथा लगानी सम्बन्धी परामर्श सेवाहरू पनि प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीले निकट भविष्यमा विशिष्टीकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालनको तयारीसमेत गरिरहेको जानकारी दिएको छ।

Online Arthik









