चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ७० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ, अघिल्लो आवमा ४२ करोड २५ लाख रुपैयाँ आम्दानी रहेकोमा यस त्रैमाससम्म २४ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ, जुन ४१.०८ प्रतिशतले घटेको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केवलकारका उपकरणमा क्षति पुगेको थियो, जसका कारण त्रैमासिक बाँकी अवधिभर आर्थिक गतिविधि ठप्प थियो। तर मंसिर १५ गतेबाट कम्पनीको कारोबार पुनः सञ्चालनमा आएको छ। कम्पनीले मुख्य समयमा भएको बन्दले आर्थिक नोक्सानी पुर्याएको स्वीकार गर्दै यसको परिपूर्ति गर्न प्रतिवद्धता जनाएको छ।
कम्पनीले खर्च नियन्त्रणमा भने सुधार गरेको छ। कुल खर्च १२ करोड ४८ लाख रुपैयाँ भएको छ, जुन अघिल्लो आवको तुलनामा ११.०७ प्रतिशत कम हो। वित्त खर्च ८ करोड ७३ लाखबाट घटेर ६ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा ऋणात्मक रहेको कम्पनीको रिजर्भ ४ करोड ६२ लाख रुपैयाँले धनात्मक बनेको छ।
कम्पनीको कुल चालु सम्पत्ति ४९ करोड १४ लाख र कुल चालु दायित्व १३ करोड ६१ लाख रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ३.०७ रुपैयाँ ऋणात्मक, प्रति सेयर नेटवर्थ १०३.०२ रुपैयाँ, पीई रेसियो २७७.६८ गुणा ऋणात्मक र तरलता अनुपात ३.६१ प्रतिशत कायम रहेको छ।

Online Arthik










