ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। यसैगरी बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पनि सभाले पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत भएको बैंकले जनाएको छ।
सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकले समीक्षाधीन अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए।कार्यक्रममा सेयरधनीहरूले राखेका जिज्ञासा तथा सुझावहरूको उत्तर अध्यक्ष र सीईओ दुवैले दिएका थिए। बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति थप उत्तरदायी बनेको दाबी गरेको छ।
स्वास्थ्य क्षेत्रमा केन्द्रित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘न्यानो नानी’ मेसिनमार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सहयोग पुगेको जानकारी दिएको छ।राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले गत आर्थिक वर्षमा मात्रै राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको जनाएको छ। हाल ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले देशभरका ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सभामा बैंकका सेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Online Arthik










