बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले चैत १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयलाई, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता वडा नम्बर ५, ६ र ७ का स्थानीयलाई तथा २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्ला का अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ।यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिने समय थप गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ५ गतेदेखि ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक (सल्लेरी शाखा), ग्लोबल आइएमई बैंक (सोलुखुम्बु शाखा) र प्राइम कमर्शियल बैंक (नेचा सल्यान शाखा) बाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया