पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ। भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो।

पाथीभरा क्षेत्र विकास समिति ले सार्वजनिक गरेको विवरणअनुसार फागुन महिनामा भक्तजनले मन्दिरमा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ का अनुसार तीर्थयात्रीले चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरी को रोहबरमा सङ्कलन गर्ने गरेका छन्।सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ। त्यसपछि करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई सदरमुकाम फुङ्लिङ स्थित समितिको कार्यालयमा ल्याइने गरिएको छ।कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

सार्वजनिक तथ्याङ्कअनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि मन्दिर पुगेका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया