सोपान फर्मास्यूटिकल्स लिमिटेड ले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यस मध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।यस्तै, ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि पछि निष्कासन गरिनेछ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन मेरो सेयर मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी दिन सकिनेछ।

Online Arthik










