गरिमा क्यापिटल लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले फागुन २८ गतेदेखि योजना निष्कासनमा ल्याएको हो, जुन यसको पहिलो खुलामुखी (ओपन-एन्डेड) योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याइएको छ।
निष्कासन गरिएको कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा बिकास बैक लिमिटेड लाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाई (३५ करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा बिक्री गरिएको हो।
उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर वेब तथा एपबाट पनि सहज रूपमा आवेदन दिन सकिनेछ।

Online Arthik










