नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीमा कायम अधिक तरलता व्यवस्थापन गर्न आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेपछि तरलता नियन्त्रण र ब्याजदर सन्तुलनका लागि यस्तो कदम चालिएको जनाइएको छ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सकिने व्यवस्था रहेको छ। उक्त निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख ६ गते भुक्तानी गरिनेछ। खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ, जसले बजार ब्याजदरलाई सन्तुलित राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया