अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य ०.२२ प्रतिशत अर्थात् १०.१२ डलरले घट्दै प्रतिऔंस ४,६६९ डलरमा कायम भएको छ। हाल लगानीकर्ताहरू अमेरिका र इरानबीच रोकिएको शान्ति वार्ताको अवस्था तथा प्रमुख केन्द्रीय बैंकहरूको आगामी नीतिगत निर्णयको प्रतीक्षामा रहेका छन्। विश्लेषकहरूका अनुसार सुनको मूल्यमा भू–राजनीतिक घटनाक्रमले ठूलो प्रभाव पारिरहेको छ। यदि अमेरिका–इरानबीच कुनै सहमति भएमा अमेरिकी डलर कमजोर हुन सक्ने र त्यसले सुनको मूल्य बढाउन सक्छ। तर, हाल अमेरिकी डलर केही मजबुत बनेको र कच्चा तेलको मूल्य बढ्दै गएकाले सुनमा दबाब परेको छ। ‘स्ट्रेट अफ होर्मुज’ आंशिक रूपमा अवरुद्ध हुँदा तेल आपूर्तिमा असर परेको छ, जसले मुद्रास्फीति बढाउने जोखिम सिर्जना गरेको छ। उच्च मुद्रास्फीतिका कारण ब्याजदर बढ्न सक्ने सम्भावना रहने हुँदा सुनजस्ता गैर–ब्याज आम्दानी दिने सम्पत्तिप्रति आकर्षण घट्ने देखिन्छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावप्रति असन्तुष्टि जनाएकाले द्वन्द्व समाधानको सम्भावना कमजोर भएको छ, जसले विश्व अर्थतन्त्रमा थप अनिश्चितता ल्याएको छ। यसैबीच फेडरल रिजर्भले आफ्नो दुई दिने बैठकपछि ब्याजदर यथावत राख्ने अपेक्षा गरिएको छ, यद्यपि विश्लेषकहरूले आगामी चौथो त्रैमासमा आर्थिक मन्दीको संकेतसँगै ब्याजदर कटौती हुन सक्ने अनुमान गरेका छन्।

Online Arthik










