माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित बासिन्दाबीच छुट्टै अनुपातमा बाँडफाँट गरिने व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ, जहाँ श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी, सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी प्रक्रिया सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ।

Online Arthik










