नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ तरलता खिच्ने तयारी गरेको छ। केन्द्रीय बैंकले ९७ दिने अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट उठाउन लागेको हो। यसअघि बुधबार मात्रै ४९ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको बैंकले बिहीबार अझ ठूलो रकम र लामो अवधिको उपकरण जारी गर्न लागेको हो। बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ५५ अर्ब रुपैयाँ तरलता रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले यसअघि स्थायी निक्षेप तथा निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकमा राखेको रकम परिपक्व हुन लागेकाले सो रकम पुनः व्यवस्थापन गर्न नयाँ उपकरण जारी गरिएको हो। सामान्यतया अधिक तरलता हुँदा बैंकहरूले अल्पकालका लागि स्थायी निक्षेप सुविधा प्रयोग गर्दै केन्द्रीय बैंकमा रकम राख्ने गर्छन्।

निक्षेप संकलन उपकरणमार्फत रकम बाँडफाँड गर्दा केन्द्रीय बैंकले न्यून ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिने व्यवस्था छ। वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम राख्न केन्द्रीय बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरण प्रयोग गरी बजारबाट पैसा खिच्ने गर्छ भने तरलता अभाव हुँदा स्थायी तरलता सुविधा र रिपोमार्फत बजारमा रकम पठाउने गर्छ।

हाल ब्याजदर करिडोरअन्तर्गत बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम रहेको छ।

तपाईको प्रतिक्रिया