आयातित मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण भन्सार जाँचपासमा अवरोध सिर्जना भएपछि सरकारले उक्त समस्या समाधान गर्न नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब पैठारीकर्ताले भन्सार बिन्दुमा पुगेका वस्तुको एमआरपी सम्बन्धी विवरण स्वघोषणा गर्न सक्नेछन्। साथै, भन्सारमै स्वघोषणा गर्ने र ‘सामान बिक्री वितरणअघि मात्र लेबल टाँसेर पठाउनेछु’ भन्ने लिखित प्रतिबद्धता जनाएपछि पनि मालवस्तुको जाँचपास गर्न सकिने सुविधा प्रदान गरिएको छ।
भन्सार विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजार तथा फलफूल–तरकारीजस्ता छिटो सड्ने वस्तुको जाँचपासमा समस्या देखिएको जानकारी गराएको थियो। यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत ३० गते सूचना जारी गर्दै वैशाख १५ देखि सबै आयातित वस्तुमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो, जसका कारण अधिकांश आयातित सामानको भन्सार प्रक्रिया प्रभावित बनेको थियो।
हाल आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा आर्थिक ऐन निर्माणको तयारी भइरहेका बेला एमआरपीसम्बन्धी व्यवस्थालाई ऐनमार्फत थप स्पष्ट पार्ने सम्भावना समेत रहेको विभागले जनाएको छ।

Online Arthik










