विश्व शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतम (भगवान बुद्ध) को २५७०औँ जयन्ती आज वैशाख शुक्ल पूर्णिमाका दिन श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष यसै दिन मनाइने बुद्ध जयन्ती बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै तिथिमा परेको स्मरणमा विशेष महत्त्व राख्छ। इसापूर्व ५६३ मा लुम्बिनी मा राजा शुद्धोधन र मायादेवीको पुत्रका रूपमा जन्मिएका बुद्धले मानव जीवनका दुःख देखेर २९ वर्षको उमेरमा राजसी जीवन त्यागी तपस्यामा लागेर ज्ञान प्राप्त गर्नुभएको थियो। उहाँका अहिंसा, शान्ति र मैत्रीका सन्देशले विश्वभर गहिरो प्रभाव पारेका छन्। यस अवसरमा स्वयम्भूनाथ स्तूप, बौद्धनाथ स्तूप लगायतका चैत्य, गुम्बा र विहारहरूमा पूजाआजा, प्रवचन र शान्ति प्रार्थना कार्यक्रम आयोजना भइरहेका छन् भने लुम्बिनी क्षेत्रमा विशेष सजावट, सरसफाइ र अन्तर्राष्ट्रिय स्तरको समारोहको तयारी गरिएको छ। देश तथा विदेशबाट आएका हजारौँ श्रद्धालुहरूको सहभागितामा शान्ति र भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।

तपाईको प्रतिक्रिया