नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेका आफ्ना दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले वीरगञ्जस्थित माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखामा गाभेर एकीकृत रूपमा सञ्चालन गर्न लागेको हो ।

पछिल्लो समय डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको र वीरगञ्ज महानगरपालिकाभित्र वित्तीय संस्थाका शाखा उल्लेख्य मात्रामा रहेकाले शाखा समायोजन गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार माइस्थान शाखा समायोजन भएपछि वीरगञ्ज सिटी अफिस शाखा नै कायम रहनेछ । उक्त शाखा वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित छ । दुवै शाखाबीचको दूरी करिब एक किलोमिटर रहेको बैंकले जनाएको छ ।शाखा समायोजनपछि कात्तिक १६ गते सोमबारदेखि एकीकृत रूपमा कारोबार सञ्चालन हुनेछ । त्यसपछि माइस्थान शाखाका सम्पूर्ण ग्राहकका खाता तथा व्यक्तिगत विवरण वीरगञ्ज सिटी अफिस शाखामा स्थानान्तरण हुनेछन् ।

शाखा समायोजन भए पनि ग्राहकले बैंकिङ सेवा लिन कुनै असुविधा नहुने बैंकले जनाएको छ । बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुँदै आएका बैंकिङ सेवा तथा सुविधा समायोजनपछि पनि निरन्तर प्राप्त गर्न सकिने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया