थाइल्याण्डस्थित नेपाली दूतावास ले नेपाली नागरिकलाई उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान निर्देशन दिएको छ। दूतावासले भिसा अवधिभन्दा बढी समय नबस्न र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन विशेष रूपमा सचेत गराएको छ।
दूतावासका अनुसार नेपालीहरू अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ जस्ता गतिविधिमा फस्ने गरेको जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिमा संलग्न भएमा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था कम्बोडिया सरकारले लागू गरेको छ। साथै, त्यस्ता स्क्यामिङ केन्द्रहरू बन्द गर्ने र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको पनि दूतावासले जनाएको छ।
रोजगारीका लागि विदेश जानुअघि सम्बन्धित नेपाली राजदूतावास वा वाणिज्यदूतावासमार्फत रोजगारदाताको आधिकारिकता यकिन गर्न तथा वैदेशिक रोजगार विभाग बाट श्रम स्वीकृति लिएर मात्र जान दूतावासले आग्रह गरेको छ। कुनै पनि समस्यामा परेमा दूतावाससँग सम्पर्क गर्न र आवश्यक परे नेपाल फर्कन सहजीकरण गरिने पनि उल्लेख गरिएको छ।

Online Arthik










