नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि निक्षेपका रूपमा राख्ने भएको छ। केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी वैशाख २३ गतेभित्र आवेदन दिन आह्वान गरेको छ।

कुल निक्षेप रकममध्ये ५ अर्ब ८४ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १ अर्ब ९ करोड ५० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३६ करोड ५० लाख रुपैयाँ राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूमा राखिनेछ। उक्त निक्षेपको अवधि ३६६ दिनको हुनेछ र ब्याज भुक्तानी त्रैमासिक रूपमा गर्नुपर्नेछ।

यसका लागि राष्ट्र बैंकले केही सर्तहरू पनि तोकेको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था कम्तीमा २ वर्ष सञ्चालनमा आएको हुनुपर्छ, न्यूनतम पूँजीकोष तोकिएको सीमाभित्र हुनुपर्छ र कुल खराब कर्जा ८ प्रतिशत तथा खुद खराब कर्जा ३ प्रतिशतभन्दा बढी नभएको हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया