मुलुकको प्रमुख आयात नाका वीरगन्ज भन्सार कार्यालय मा सेवा प्रवाह एक सातादेखि ठप्पजस्तै बनेको छ। अनिवार्य रूपमा लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी नयाँ व्यवस्थालाई लिएर उत्पन्न विवादका कारण जाँचपास प्रक्रिया प्रभावित भएको हो। गत वैशाख १५ गतेदेखि लागू गरिएको उक्त नियमप्रति असहमति जनाउँदै आयातकर्ता तथा निर्यातकर्ताले जाँचपास प्रक्रियामा सहभागी हुन छाडेपछि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा केही अत्यावश्यक वस्तु बाहेक अन्य सामानको क्लियरेन्स रोकिएको छ।
भन्सार कार्यालयका अनुसार दैनिक सयौँ मालवाहक सवारीसाधन थपिँदै जाँदा रक्सौल नाका तर्फ समेत ट्रकहरूको लामो लाइन लागेको छ। हाल करिब एक हजारभन्दा बढी सवारीसाधन जाँचपास नहुँदा रोकिएको अनुमान गरिएको छ। भन्सार पक्ष प्रक्रिया अघि बढाउन तयार रहे पनि आयातकर्ताले फाराम भर्ने र घोषणा गर्ने प्रक्रिया नै बहिष्कार गरेपछि काम अगाडि बढ्न सकेको छैन।
सम्बन्धित निकायबीच समन्वय भइरहेको र समस्या चाँडै समाधान हुने अपेक्षा गरिएको छ। यद्यपि, नाका व्यवस्थापनमा संलग्न निजी पक्षका अनुसार सीमा क्षेत्रमा ट्राफिक जाम र ट्रकको चाप बढ्दै गएको छ। लामो समयसम्म समस्या समाधान नभए राज्यको राजस्व संकलन र निजी क्षेत्र दुवैमा नकारात्मक असर पर्ने व्यवसायीहरूले चेतावनी दिएका छन्।
सामान्य अवस्थामा वीरगन्ज भन्सारले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको भए पनि हालको अवरोधले व्यापारिक गतिविधि ठप्पजस्तै बनेको व्यवसायीहरूको भनाइ छ।

Online Arthik










