फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड को १३औँ वार्षिक साधारणसभा सुनसरीको दुहवी मा सम्पन्न भएको छ। ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) अन्तर्गत सञ्चालन हुँदै आएको संस्थाको उक्त सभा पूर्वमन्त्री भगबती चौधरी को प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै चौधरीले लघुवित्त कार्यक्रमले ग्रामीण महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै संस्थाको लामो योगदानलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्। उनले ऋण मिनाहा हुने भ्रममा नपर्न आग्रह गर्दै कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन्।
सभामा स्थानीय जनप्रतिनिधि, वित्तीय क्षेत्रका प्रतिनिधि तथा शेयरधनीहरूले लघुवित्त क्षेत्रका अवसर र चुनौतीबारे धारणा राख्दै पछिल्ला वर्षमा देखिएका नकारात्मक प्रवृत्तिलाई सम्बोधन गर्न संस्थागत सुधार र पारदर्शितामा जोड दिएका थिए। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई ले संस्थाको विस्तार र सुदृढीकरणका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। साथै, सञ्चालक समितिको निर्वाचन सम्पन्न गर्दै संस्थापक र सर्वसाधारण समूहबाट नयाँ प्रतिनिधिहरू चयन गरिएको छ भने पुँजी संरचनामा संशोधन गर्दै शेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
संस्थाका अनुसार हाल ४० जिल्लाका ३८२ स्थानीय तहमा २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई वित्तीय सेवा प्रदान गरिएको छ। १ लाखभन्दा बढी ऋणी ग्राहकमार्फत अर्बौँ रुपैयाँ कर्जा प्रवाह गरिएको र बचत संकलन पनि उल्लेख्य रहेको जानकारी दिइएको छ। संस्थामा कार्यरत ६९५ कर्मचारीमध्ये आधाभन्दा बढी महिला रहेका छन् भने ग्राहकलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

Online Arthik










