मुस्ताङका विभिन्न पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति कार्य सुरु गरिएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिका ले जीर्ण पदमार्गहरूको संरक्षण, विकास र सुधारमा जोड दिएका हुन्।
कालीगण्डकी करिडोर सडक निर्माणसँगै धेरै पदमार्ग मासिँदै गएका कारण ती मार्गहरूको पुनः मर्मत तथा स्तरोन्नति गर्दै पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखिएको छ। एक्याप जोमसोमले चालु आर्थिक वर्षमा ११ वटा पदमार्ग मर्मतका लागि ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ, जसअन्तर्गत केही मार्ग सम्पन्न भइसकेका छन् भने अन्यमा काम जारी छ।थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिमयुक्त स्थानमा ढुङ्गा बिछ्याउने, ग्याबिन वाल र रेलिङ जडान गर्ने कार्य भइरहेको छ। यसैगरी चोेखोपानी–सौरु, भुतर्छो ताल परिक्रमा, चिमाङ गाउँ, सौरु–सिर्खुम (थाङ्मेडाँडा), टिटी–लुप्साङ खर्क लगायतका पदमार्गहरूको स्तरोन्नति भइरहेको छ। नयाँ वैकल्पिक पदमार्गहरू पनि निर्माण तथा सुधार भइरहेका छन्।त्यसैगरी घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न पदमार्गहरू—नमखुलेक–तिलिचो ताल, थोरङफेदी–छेङ्गुर तथा मुक्तिनाथ क्षेत्रका मार्गहरू—समेत मर्मतको क्रममा छन्। अघिल्लो वर्ष पनि एक्याप जोमसोमले २७ लाख ९० हजार रुपैयाँ बजेटमा ६ वटा पदमार्ग सुधार गरेको थियो। उता एक्याप लोमान्थाङले पनि चालु आवमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरी छुसाङ–तेताङ, ताङ्ग्या–पा, छोसेर–कोन्जोलिङ र मराङ–लोमान्थाङ पदमार्गहरू सुधार गरिरहेको छ। पछिल्ला तीन वर्षमा माथिल्लो मुस्ताङमा करिब २० किलोमिटर पदमार्ग स्तरोन्नति गरिएको जनाइएको छ।
यस पहलले मुस्ताङको पर्यटकीय आकर्षण बढाउँदै पदयात्रा पर्यटनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Online Arthik










