द म्यासिफ होटल प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित रोयल ट्युलिप काठमाडौंले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ निष्कासनका लागि आवश्यक पूर्वतयारी पूरा गर्ने तथा ‘रोड टु आईपीओ’ प्रक्रिया अघि बढाउने काममा नबिल इन्भेष्टमेण्टले परामर्श तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी ले हस्ताक्षर गरेका छन् ।

ग्वार्को, ललितपुरस्थित रोयल टुलिप काठमाडौं अन्तर्राष्ट्रिय होटल चेन ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हल उपलब्ध छन् । आधुनिक सुविधासहित डिजाइन गरिएका कोठाहरूमा अतिथिलाई उच्चस्तरीय सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन–हाउस रेस्टुरेन्टमार्फत अन्तर्राष्ट्रियस्तरको भोजन सेवा उपलब्ध छ । साथै, विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधासम्पन्न बैठक हलहरू पनि रहेका छन् ।

सम्झौताअनुसार नबिल इन्भेष्टमेण्टले होटललाई आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष सार्वजनिक निष्कासन अनुमति माग गरिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया