राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०२६ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा साँझ ७ बजेपछि सार्वजनिक हुन सक्नेछ ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बोर्ड बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा नतिजा प्रणालीको डेमो प्रस्तुत गरिनेछ । डेमो सफल भएपछि एक–दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने तयारी रहेको उनले बताएका छन् । यस वर्ष पहिलोपटक परीक्षा सम्पन्न भएको एक महिनाभित्रै एसईईको नतिजा प्रकाशन गर्न लागिएको हो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थीले परीक्षा दिएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार विद्यार्थीहरूले एसईई नतिजा एसएमएस, आईभीआर सेवा तथा वेबसाइटमार्फत हेर्न सक्नेछन् ।

Online Arthik










