नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको अतिरिक्त श्रम तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ संशोधित व्यवस्था लागू गरेको छ। शुक्रबार जारी गरिएको एकीकृत निर्देशन २०८२ को संशोधनमार्फत केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने स्पष्ट व्यवस्था गरेको हो। यसअघि कार्यालय समय र सेवा सञ्चालनसम्बन्धी सामान्य व्यवस्था मात्र रहेकोमा संशोधनपछि अतिरिक्त समय काम गराउँदा पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने प्रावधान थपिएको छ।
नयाँ व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त संस्थाले कार्यालय समय बाहिर काममा खटाउँदा प्रचलित कानुनबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न नपाइनेछ। साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा निरक्षर सेवाग्राहीका लागि विशेष प्राथमिकतासहित छुट्टै काउन्टरमार्फत सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक स्थानीय तहमा कम्तीमा एक अपाङ्गमैत्री शाखा स्थापना गर्नुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, साथै एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कार्ड सेवा समेत दृष्टिविहीनमैत्री बनाउनुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।

Online Arthik










