माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एन आइ इम बि एस क्यापिटल  ले आज बिहान आईपीओ बाँडफाँड प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनीले सोलु दुधकुण्ड नगरपालिका  का स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो, जसमा अति प्रभावित र प्रभावित वर्गलाई छुट्टाछुट्टै प्राथमिकताका आधारमा सेयर बाँडफाँड गरिएको छ। अति प्रभावित वर्गतर्फ १५० कित्तासम्म आवेदन दिने लगानीकर्ताले मागअनुसार नै सेयर प्राप्त गरेका छन् भने सोभन्दा बढी आवेदन दिनेले पनि १५० कित्ता नै पाएका छन्। साथै, गोलाप्रथामार्फत २९२ जनाले थप १० कित्ता सेयर प्राप्त गरेपछि यस वर्गमा अधिकतम १६० कित्तासम्म सेयर परेको छ। त्यस्तै प्रभावित वर्गमा ६० कित्तासम्म आवेदन दिनेले मागअनुसार नै सेयर पाएका छन् भने बढी आवेदन दिनेले पनि ६० कित्ता नै प्राप्त गरेका छन्। गोलाप्रथाबाट १ हजार ७७७ जनाले थप १० कित्ता पाएपछि यस समूहमा अधिकतम ७० कित्तासम्म सेयर परेको छ। स्थानीयतर्फको बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले गत वैशाख १७ गतेदेखि ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो।

तपाईको प्रतिक्रिया