संसद्मा जारी अवरोध अन्त्य गर्ने उद्देश्यले रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। संसद्मा उठेको सीमासम्बन्धी अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही विवादमा सहमति खोज्दै संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप बैठक आयोजना गरिएको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई बैठकमा निमन्त्रणा गरिए पनि अधिकांश शीर्ष नेताहरू भने सहभागी भएका छैनन्। बैठकमा भीष्मराज आङ्देम्बे, शहाजन खातुन, ऐन महर, माधवकुमार नेपाल तथा वर्षमान पुन सहभागी छन्।रास्वपाबाट सभापति रवि लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य दीपक बोहरा उपस्थित छन्। त्यसैगरी राजेन्द्र लिङ्देन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोविता गौतम पनि बैठकमा सहभागी छन्।संसद्को अवरोधका कारण विधेयक तथा अन्य संसदीय कामकारबाही प्रभावित भइरहेका बेला दलहरूबीच सहमति जुटाउने उद्देश्यले बैठक आयोजना गरिएको हो। बैठकबाट संसद्को गतिरोध अन्त्यका लागि साझा निष्कर्ष निकाल्ने प्रयास हुने बताइएको छ।
हाल बैठक जारी रहेको छ। बैठकबाट निस्कने निष्कर्षले संसद्को आगामी कार्यसूची तथा समग्र राजनीतिक सहमतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Online Arthik










