कैलालीमा एक महिलाको टेम्पो भिरबाट धकेलेर खसालेको घटनामा डिभिजन वन कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।जिल्ला प्रशासन कार्यालय कैलालीले दुवै जनालाई सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सार्वजनिक स्थानमा शान्ति भंग गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा पक्राउ परेका १२ जना वन कर्मचारीमध्ये पीडितको जाहेरीका आधारमा दुई जनाविरुद्ध मात्रै मुद्दा चलाइएको छ भने बाँकी १० जनालाई रिहा गरिएको छ।गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा रहेको भीमदत्त राजमार्ग किनारमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए। धामीले आफ्नो घर नजिकै सडक किनारमा टेम्पो राखेर पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएकी थिइन्। वन क्षेत्र अतिक्रमण गरी व्यापार सञ्चालन गरेको भन्दै वन कर्मचारीहरूले उनको टेम्पो हटाउने क्रममा भिरबाट खसालिदिएको आरोप लागेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो र वन कर्मचारीहरूको व्यवहारप्रति तीव्र आलोचना भएको थियो। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।

तपाईको प्रतिक्रिया