ठगी तथा बैंकिङ कसुरको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष शाह रिहा भएका छन्। सोमबार बेलुका उनी रिहा भएका हुन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप घिमिरेका अनुसार पीडित पक्षसँग लेनदेन मिलान भई चेक बमोजिमको रकम प्राप्त भएपछि शाहलाई रिहा गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको थियो। यसै प्रकरणमा सोही रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित विवादमा सकुन्तला अधिकारी थापाले मुद्दा दर्ता गरेकी थिइन्।
सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफ हुन्। उनी सन् २०२१ मा बीबीसी मास्टरसेफ कार्यक्रममा सहभागी भएर व्यापक रूपमा परिचित बनेका थिए।

Online Arthik










