नेपालको बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशक सौजन्य नेपाल का अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने उद्धार, सुरक्षा र सवारी व्यवस्थापनसम्बन्धी परीक्षण जारी छन्। २ हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ। दैनिक करिब ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने यस मार्गमा करिब ६० प्रतिशत सवारीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी युसिन एआरटी कम्पनी ले पाँच वर्षका लागि पाएको छ र सेवा चौबिसै घण्टा सञ्चालन हुनेछ। सवारी चालकले नगद, क्यूआर कोड स्क्यान तथा स्टिकर-आधारित डिजिटल प्रणालीमार्फत टोल शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ। सरकारले निर्धारण गरेको शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि प्रवेश शुल्क १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि क्रमशः २६० र २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्नेछ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम, यात्रा समय तथा इन्धन खपतमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

Online Arthik










