सुदन गुरुङको अध्यक्षतामा विपद् व्यवस्थापन तथा मनसुनजन्य जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय बैठक बसेको छ।
गृह मन्त्रालय नेपाल मा आयोजित बैठकमा दानबहादुर कार्की, नारायणदत्त पौड्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षा, बाढी, पहिरो तथा डुबानबाट उत्पन्न जोखिम, सम्भावित विपद्को पूर्वतयारी, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उपाय तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।त्यसैगरी मनसुन अवधिमा सुरक्षा निकायको तयारी, आवश्यक जनशक्ति तथा स्रोत–साधन परिचालन, उच्च जोखिममा रहेका क्षेत्रको निरन्तर निगरानी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा समेत विशेष ध्यान केन्द्रित गरिएको बताइएको छ। बैठकमा गृहमन्त्री गुरुङले विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गरी उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारीलाई अझ प्रभावकारी बनाउने, जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्ने तथा आकस्मिक परिस्थितिको सामना गर्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राख्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

Online Arthik









