राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रका देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो। समितिका सभापति कृष्णप्रसाद पौडेलले चिया किसान र श्रमिकको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिँदै यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे। समितिले चिया मात्र नभई अलैँची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदेबालीका किसानहरूले पनि उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै त्यसको समाधानका लागि प्रभावकारी बजार व्यवस्थापन प्रणाली विकास गर्न सरकारलाई आग्रह गरेको छ। सभापति पौडेलले यी नगदेबालीहरूको मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै यसै अधिवेशनभित्र कानुन ल्याउन पनि सरकारलाई आग्रह गरेका छन्।

यता, इलामसहित देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएको भन्दै पछिल्ला चार दिनदेखि उद्योग बन्द गरेका छन्, जसले चिया क्षेत्र थप प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया