अमेरिका र इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित गरिएको छ। आज स्विट्जरल्यान्डको ब्युर्गेनस्टकमा आयोजना हुने तय भएको कार्यक्रम उच्चस्तरीय अमेरिकी र इरानी अधिकारीहरूको सहभागिता रद्द भएपछि रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको बताइएको छ। दुवै देशका प्रतिनिधिमण्डलसँगै मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका अधिकारीहरू स्विट्जरल्यान्डमै रहेर नयाँ वार्ता संरचना तयार पारिरहेका छन्। प्रारम्भिक सहमतिमा बाँकी रहेका जटिल विषयहरू समाधान गर्न आगामी ६० दिनसम्म चरणबद्ध प्राविधिक वार्ता सञ्चालन हुने जनाइएको छ। सम्झौताको स्वरूपमा आएको परिवर्तनका कारण पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको स्विट्जरल्यान्ड भ्रमणसमेत रद्द भएको बताइएको छ। यद्यपि सम्झौतासम्बन्धी प्रमुख समझदारीपत्र (एमओयू) का अधिकांश पक्षहरू डिजिटल माध्यमबाट पूरा भइसकेकाले तत्काल औपचारिक उपस्थितिको आवश्यकता नरहेको स्रोतहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया