तानसेन नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँदै तानसेनलाई समृद्ध, व्यवस्थित र आकर्षक नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
नगरपालिकाले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। दूध, अण्डा, मासु तथा तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषकलाई विभिन्न अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइनेछ भने बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। कृषि उत्पादनको भण्डारण तथा बजार व्यवस्थापनलाई सहज बनाउन वडा नम्बर ७ मा शीतभण्डार सञ्चालन गरिने र वडा नम्बर ५ मा अदुवाको बीउ भण्डारण गर्ने कृषकलाई प्रतिकिलो ५ रुपैयाँ अनुदान दिइने व्यवस्था गरिएको छ। साथै, Heifer Project Nepal को सहकार्यमा आर्थिक विकाससम्बन्धी परियोजना सञ्चालन गरिने जनाइएको छ।
पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पाल्पाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको छ। रानीमहल, श्रीनगर डाँडा, पाल्पा दरबार क्षेत्र, रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिर लगायतका सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। स्थानीय जात्रा, संस्कृति तथा मौलिक वास्तुकलाको संरक्षण गर्दै परम्परागत शैलीका घर निर्माणलाई प्रोत्साहन गरिने भएको छ। पर्यटकीय पूर्वाधार विस्तारअन्तर्गत तीनमुखे पुल क्षेत्रमा प्रकाश तथा सौन्दर्यकरणको काम गरिनेछ भने कमलपोखरी, सूर्यकुण्ड र अर्गली–कुडापानी क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ।
युवाहरूलाई सीपमूलक शिक्षा र रोजगारीसँग जोड्न कुक, प्लम्बिङ, इलेक्ट्रिसियन, कम्प्युटर हार्डवेयर तथा नेटवर्किङलगायतका प्राविधिक तालिम सञ्चालन गरिनेछ। उद्यमशीलता विकासलाई प्राथमिकता दिँदै विद्यालय तहमा प्राविधिक शिक्षा तथा “पढ्दै कमाउँदै” कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। नसर्ने रोगको परीक्षण, पूर्ण खोप सुनिश्चितता, कुपोषण न्यूनीकरण तथा एचआईभी संक्रमितलाई औषधि उपचार सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने नीति लिइएको छ। प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण गरी स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरिने लक्ष्य पनि राखिएको छ।
पूर्वाधार विकासअन्तर्गत वनदेवी बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। भवन निर्माण स्वीकृति प्रक्रियालाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणाली लागू गरिनेछ भने बजार व्यवस्थापन र पार्किङ सुविधालाई थप व्यवस्थित बनाइनेछ। “एक घर, एक धारा” अभियानमार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने तथा फोहोर व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाइने नीति अवलम्बन गरिएको छ। सुशासन प्रवर्द्धनका लागि जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरिनेछ भने राजस्व संकलन तथा सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ। नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारसँगै विभिन्न विकास साझेदार संस्थासँग सहकार्य गरिने पनि नगरपालिकाले जनाएको छ।

Online Arthik










