नेपालमा पछिल्ला तीन महिनायता फैलिएको बर्डफ्लू (एच५एन१) संक्रमणले कुखुरा व्यवसायमा गम्भीर असर पार्न थालेको छ। मोरङबाट पहिलो पटक देखिएको संक्रमण हाल विस्तार हुँदै ११ जिल्लामा पुष्टि भइसकेको छ। संक्रमणको जोखिम बढ्दै गएपछि सम्बन्धित निकायहरूले नियन्त्रण तथा रोकथामका उपायलाई थप कडाइका साथ लागू गरेका छन्।

पशु सेवा विभागका अनुसार हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा निगरानी तथा नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ। त्यस्तै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ। संक्रमित तथा शंकास्पद फार्महरूमा रहेका कुखुरा, अण्डा र दाना व्यवस्थापन गरेर भाइरसको थप फैलावट रोक्ने प्रयास गरिएको हो। विभागका अधिकारीहरूका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण एक महिनाभित्र नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरिएको छ। यद्यपि अन्य जिल्लामा संक्रमणको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाइएको छ।संक्रमित क्षेत्रमा कुखुरा, चल्ला, अण्डा तथा दानाको ढुवानी र ओसारपसारमा कडा निगरानी राखिएको छ। साथै व्यावसायिक तथा साना कुखुरा फार्महरूमा जैविक सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिइएको छ। पशु स्वास्थ्यकर्मीहरूले नियमित निरीक्षण र नमुना संकलन कार्यलाई समेत तीव्र बनाएका छन्।प्रयोगशाला परीक्षणका क्रममा एच५एन१ बर्डफ्लू भाइरससँगै एच९एन२ र न्यूक्यासल रोगका भाइरससमेत फेला परेका छन्। विज्ञहरूका अनुसार यसले कुखुरा क्षेत्रमा एकभन्दा बढी रोगजन्य संक्रमणको जोखिम रहेको संकेत गरेको छ। यस्ता रोगहरूले उत्पादन घटाउनुका साथै ठूलो आर्थिक क्षति पुर्‍याउन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ।पशु सेवा विभागले किसानहरूलाई संक्रमित वा शंकास्पद कुखुराको सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेको छ। मरेका कुखुरा खुला स्थान, नदीकिनार वा सार्वजनिक क्षेत्रमा नफाल्न चेतावनी दिँदै विभागले सुरक्षित रूपमा नष्ट गर्नुपर्नेमा जोड दिएको छ।पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहाल ले बर्डफ्लू नियन्त्रण सरकारी प्रयासबाट मात्र सम्भव नहुने भन्दै किसान, व्यवसायी, स्थानीय तह र सम्बन्धित सबै निकायको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्। उनले संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न तथा कुनै पनि शंकास्पद अवस्था देखिए तत्काल जानकारी गराउन आग्रह गरेका छन्।

विशेषज्ञहरूका अनुसार बर्डफ्लूको फैलावटले कुखुरा उद्योग, अण्डा उत्पादन र बजार आपूर्तिमा प्रत्यक्ष असर पार्न सक्छ। समयमै प्रभावकारी नियन्त्रण र रोकथामका उपाय लागू गर्न नसके यस क्षेत्रको आर्थिक क्षति अझ बढ्न सक्ने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया