टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओको आशय मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्न रोड शो कार्यक्रम आयोजना गर्ने भएको हो।
कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम रोड शो सञ्चालन गरिनेछ। कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिने जनाइएको छ।रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित याक एण्ड येतिमा आयोजना हुनेछ।कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार पेश गर्नुपर्नेछ। साथै प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए त्यससमेत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र र पछिल्ला तीन आर्थिक वर्षका लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश गरिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेडले सम्हालेको छ। टाईम फर्मास्यूटिकल्स नेपालका स्थापित औषधि उद्योगमध्ये एक हो। सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। कम्पनीले विभिन्न औषधिजन्य अणुको फर्मुलेसन तथा उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ।
सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा अल्फा क्यापिटल लिमिटेड को करिब १५ प्रतिशत स्वामित्व रहेको छ। त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टा को करिब ९–९ प्रतिशत तथा जी. नारायण बहादुर क्षेत्री को करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी सेयर विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ।

Online Arthik










