काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी कडा पारिएको छ। पछिल्लो २४ घण्टामा विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५१९ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित अनुगमन र चेकजाँच अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ९२ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै अनुमति तथा नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १६३ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।सडक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित उल्लङ्घनमा ट्राफिक सङ्केत बत्तीको अवज्ञा गर्ने ९९ जना तथा निर्धारित गति सीमा नाघेर सवारी चलाउने ११५ जना चालकलाई जरिवाना गरिएको छ। त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने १०९ जना चालक पनि कारबाहीमा परेका छन्।निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०० जना चालकलाई समेत कारबाही गरिएको छ। सडकमा ध्वनि प्रदूषण नियन्त्रणका लागि यस्ता गतिविधिमाथि विशेष निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ।
लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने तीन जना चालक पक्राउ परेका छन् भने वातावरणीय मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १९ वटा सवारीसाधनलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।यस बाहेक आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने, सवारी सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने तथा अन्य विविध कसुरमा एक हजार ८१९ जना चालक कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चापका बीच सडक अनुशासन कायम राख्न नियमित निगरानी, प्रविधिमार्फत अनुगमन तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइनेछ। साथै चालकहरूलाई ट्राफिक नियम पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरिएको छ।
प्रहरीको भनाइमा ट्राफिक नियमको पालना भए सडक दुर्घटना न्यूनीकरण हुनुका साथै यातायात व्यवस्थापन थप सुरक्षित, व्यवस्थित र सहज बन्नेछ।

Online Arthik










