पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै आज (असार २६)देखि एकीकृत कारोबार सुरु भएको छ। मर्जरपश्चात् दुवै संस्थाको कारोबार अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट सञ्चालन हुनेछ।

दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि मर्जर प्रक्रिया पूरा भएको जनाएका छन्। स्वीकृतिअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी अब पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित पूर्व समृद्धि फाइनान्सको कार्यालयबाट सञ्चालन हुनेछ।एकीकृत कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली समायोजन गर्न असार २५ गते दुवै संस्थाका बैंकिङ सेवा एक दिनका लागि बन्द गरिएको थियो। अब आजदेखि सम्पूर्ण सेवा नयाँ एकीकृत प्रणालीमार्फत सञ्चालनमा आएको छ।

दुवै संस्थाले मर्जर प्रक्रियाका क्रममा सेवा प्रभावित हुँदा ग्राहक, सेयरधनी तथा अन्य सरोकारवालामा परेको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया