अविरल वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार शनिबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। जोखिमयुक्त मानिने उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्ने र यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उनले बताए।हाल साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार लेदो झरिरहेकाले ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने प्रशासनले जनाएको छ।यस्तै, मेची राजमार्गकै रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रुख ढलेपछि अर्को सडकखण्ड पनि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उक्त स्थानमा पनि सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ।

सडक अवरुद्ध भएसँगै इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको यातायात सेवा प्रभावित भएको छ। बीच बाटोमै सवारीसाधन रोकिँदा विभिन्न गन्तव्यतर्फ यात्रा गरिरहेका यात्रुहरू अलपत्र परेका छन्। स्थानीय प्रशासनले मौसममा सुधार आएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया