ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले ‘उद्यमशाला’ कार्यक्रम सार्वजनिक गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीबाट आवेदन आह्वान गरेको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै आवेदन प्रक्रिया खुला भएको जानकारी दिए। उनका अनुसार लघु, साना तथा मझौला व्यवसायीले भोगिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न कार्यक्रम सञ्चालनमा ल्याइएको हो।उनले विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, सीप र व्यवसायिक समस्या समाधानका उपाय प्रदान गरिने बताए।उद्यमशाला कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो ‘इन्क्युबेसन’ कार्यक्रम नयाँ व्यवसाय सुरु गर्न चाहने तथा नवप्रवर्तनकारी अवधारणा भएका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार र मार्गदर्शन प्रदान गरिनेछ।दोस्रो ‘एक्सीलेरेसन’ कार्यक्रम भने सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीका लागि हुनेछ। यसमार्फत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सरोकारवाला निकायसँगको पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।कार्यक्रममा सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँगको पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने विश्वास बैंकले लिएको छ।

ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया