भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशकै उत्कृष्ट सङ्घीय अस्पताल बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले ८९ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
मूल्याङ्कनअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७७ अङ्क सहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्क सहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पताल को मूल्याङ्कन भने जारी रहेको मन्त्रालयले जनाएको छ।गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारी का अनुसार देशभरका १४ वटा सङ्घीय अस्पतालको सेवा प्रवाहको मूल्याङ्कन गर्दा भरतपुर अस्पताल उत्कृष्ट देखिएको हो। मन्त्रालयले १,४९७ वटा विभिन्न सूचकका आधारमा अस्पतालहरूको सेवा गुणस्तर परीक्षण गरेको थियो। गत वर्ष पनि भरतपुर अस्पतालले ८८ अङ्क प्राप्त गर्दै उत्कृष्ट बनेको थियो।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले ले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा गुणस्तर अझ सुधार गरेको बताए। बिरामीले पाउने सेवा, उपकरण, कार्यतालिका, सरसफाइ, औषधि तथा जनशक्ति व्यवस्थापनमा निरन्तर सुधार गरिएको उनको भनाइ छ। हाल ६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक २,५०० देखि ३,००० बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि बिमाका बिरामीको चाप पनि अस्पतालमा बढेको छ।
डा. बगालेले सेवा गुणस्तरका सूचक राम्रो देखिए पनि बिरामीको अत्यधिक चाप र सीमित स्रोत–साधनका कारण सबै बिरामीको अपेक्षाअनुसार सेवा दिन अझै चुनौती रहेको बताए।

Online Arthik










