देशभर सक्रिय मनसुनी प्रणालीका कारण बिहीबार बिहानैदेखि भइरहेको निरन्तर वर्षाले जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
लगातारको वर्षाका कारण बुटवलसहित विभिन्न स्थानका सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेको छ। विशेषगरी पहाडी सडकखण्डमा आवागमन प्रभावित हुन सक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले वर्षा अझै बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। तिनाउ नदीसहित स्थानीय खोला तथा नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
सम्भावित पहिरो तथा बाढीलाई ध्यानमा राख्दै सडक विभाग, स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। लामो दूरीका यात्रुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Online Arthik










