लुम्बिनी प्रदेशमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ सुस्त बनेको छ। प्रदेश कृषि मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशभर कुल धान खेतीयोग्य क्षेत्रफलको २०.५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ।

प्रदेशभर धान खेती हुने ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ। प्रदेश कृषि मन्त्रालयका बागबानी अधिकृत सन्देश धितालका अनुसार प्रतिशतका आधारमा अर्घाखाँचीमा ११.२ प्रतिशत, बर्दियामा ११.३१ प्रतिशत, गुल्मीमा ७ प्रतिशत, प्युठानमा ५.५ प्रतिशत, नवलपरासी (पश्चिम) मा ५ प्रतिशत, रोल्पामा ४ प्रतिशत, पाल्पामा ४ प्रतिशत, रुकुम (पूर्व) मा २.५ प्रतिशत, कपिलवस्तुमा १.५५ प्रतिशत, दाङमा १.५ प्रतिशत र बाँकेमा ०.५ प्रतिशत रोपाइँ भएको छ।धान उत्पादनका प्रमुख जिल्लामध्ये रुपन्देहीमा २७ हजार ३२६.५ हेक्टर अर्थात् ४३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने नवलपरासी (पश्चिम) मा १० हजार ४४३.५ हेक्टर अर्थात् ५० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको तथ्याङ्कमा उल्लेख छ।प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा नहुँदा, विशेषगरी सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसान आकाशे पानीकै भरमा रहेकाले रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ।

विगतका वर्षमा मध्य असारसम्म करिब आधा क्षेत्रमा रोपाइँ सकिने गरे पनि यस वर्ष मनसुन कमजोर रहेकाले रोपाइँको गति सुस्त भएको मन्त्रालयको भनाइ छ। बागबानी अधिकृत धितालले असार १४ गतेदेखि वर्षा सुरु भएकाले रोपाइँ बढ्ने अपेक्षा गरिएको र तथ्याङ्क हरेक शुक्रबार अद्यावधिक हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया