नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आर्थिक वर्ष सुरु हुनुअघि नै सार्वजनिक गर्दै नयाँ अभ्यासको सुरुआत गरेका छन्। करिब ३ मिनेट ५० सेकेन्डमै सार्वजनिक गरिएको यो मौद्रिक नीति हालसम्मकै सबैभन्दा छोटो रहेको मानिएको छ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले यो मौद्रिक नीति सही ढंगले आएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार विगतमा घण्टौँ लामो मौद्रिक नीति सुन्ने परम्परा भएकाले छोटो नीति अनौठो लागे पनि यसको मूल सन्देश स्पष्ट छ। उनले यो मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सहयोग गर्ने उद्देश्यका साथ तयार गरिएको बताए।नेपालका अनुसार राष्ट्र बैंकले यसपटक आफू अर्थतन्त्रको मुख्य चालक नभई सरकारको वित्त नीति नै प्रमुख साधन भएको सन्देश दिएको छ। आवश्यक परे तीन–तीन महिनामा नीतिगत समायोजन गर्न सकिने संकेत पनि मौद्रिक नीतिले दिएको उनको भनाइ छ।उनले विगतमा मौद्रिक नीतिमार्फत सरकारले नदिएका विभिन्न राहत तथा सहुलियतका प्याकेजहरू घोषणा हुने गरेकाले बजेटभन्दा पनि मौद्रिक नीति प्रभावशाली देखिने अवस्था रहेको स्मरण गर्दै यसपटक भने त्यस्तो प्रवृत्तिको अन्त्य भएको बताए।पूर्व गभर्नर नेपालले मौद्रिक नीतिले लिएको ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यले सरकारले तय गरेको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार नेपालको करिब ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक क्षेत्रमै सञ्चालन भइरहेकाले ११ प्रतिशत कर्जा विस्तारबाट औपचारिक क्षेत्रमा ठूलो रकम प्रवाह भई आर्थिक गतिविधि बढ्नेछ। यद्यपि, कर्जा कुन–कुन क्षेत्रमा प्रवाह गर्ने भन्ने विषय मौद्रिक नीतिमा स्पष्ट उल्लेख नभएकाले त्यसमा केही अन्योल रहेको उनले बताए।

Online Arthik









