आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (IC-AICSE 2026) काठमाडौंमा सम्पन्न भएको छ। एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजना तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुढानीलकण्ठमा सम्पन्न सम्मेलनमा नेपालसहित विभिन्न देशका २२० जना सहभागी थिए। सम्मेलनमा नाइजेरिया, लिथुआनिया, दक्षिण कोरिया र अस्ट्रेलियाका विज्ञहरूले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए। चार समानान्तर प्राविधिक सत्रमार्फत एआई, कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसँग सम्बन्धित ३९ वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो। उद्घाटन सत्रमा नेपालमा एआई तथा कम्प्युटेसनल साइन्स र इन्जिनियरिङको विकास तथा सम्भावनाबारे विज्ञहरूले धारणा राखेका थिए भने अनुसन्धान पत्रहरूको निचोड समेटिएको ‘एब्स्ट्र्याक्ट बुक’ समेत सार्वजनिक गरिएको थियो। सम्मेलनमा विभिन्न संस्था तथा निकायले प्राविधिक र आर्थिक सहयोग गरेका थिए। नेपाल इन्जिनियरिङ परिषद्ले कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरूलाई निरन्तर पेशागत विकासअन्तर्गत मूल्याङ्कन गरेको थियो। समापन समारोहमा सहआयोजक, प्रायोजक, सत्र अध्यक्ष तथा सहअध्यक्षलाई सम्मान गर्नुका साथै मुख्य वक्ता, अनुसन्धान पत्र प्रस्तुतकर्ता र सहयोगीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Online Arthik









