खिचापोखरीस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

२९ जना संस्थापक सदस्यबाट सुरु भएको सहकारीमा हाल १ हजार ९७५ जना शेयर सदस्य आबद्ध छन्। संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको छ। खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यको विश्वास, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। सहकारीले वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप वित्तीय विवरण तयार गर्दै आएको संस्थाले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) सम्बन्धी नियामकीय निर्देशन पालना गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरणलाई समेत प्राथमिकता दिएको संस्थाले १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजनाअन्तर्गत बृहत् रक्तदान कार्यक्रम र ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको थियो। त्यस्तै, सदस्यबीच आपसी सम्बन्ध सुदृढ बनाउन पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम आयोजना गर्नुका साथै मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई भोजन गराएको थियो। साना तथा मझौला व्यवसायमा आबद्ध सदस्यको क्षमता अभिवृद्धिका लागि ‘CHITCOL Digital Catalyst’ डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ।सभाले कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णबहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ। साथै, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।सभाले संस्थाको नाममा रहेको सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थासँग एकीकरण तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनलगायतका विशेष प्रस्तावसमेत पारित गरेको छ।कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद संस्थाले सदस्य संख्या, शेयर पुँजी र बचतमा उल्लेखनीय वृद्धि गर्न सफल भएको बताए। सामाजिक उत्तरदायित्वका कार्यक्रम, एनएफआरएस प्रणालीको कार्यान्वयन र नियामकीय अनुशासनमार्फत सदस्यको विश्वास जित्नु अन्य सहकारीका लागि पनि अनुकरणीय रहेको उनको भनाइ थियो।काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड सहकारी न्यूरोड क्षेत्रको वित्तीय संस्थाका रूपमा मात्र नभई स्थानीय विकासको साझेदार, उद्यमशीलता प्रवर्द्धक र समृद्धिको सहयात्रीका रूपमा स्थापित भएको बताए। कार्यक्रममा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले आगामी दिनमा डिजिटल सेवालाई थप परिष्कृत गर्दै सदस्यकेन्द्रित कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सदस्य समर्पित अग्रणी सहकारी’ बन्ने लक्ष्यसहित आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्यको समृद्धिमा योगदान पुर्‍याउने संस्थाको ध्येय रहेको उनले बताए।

तपाईको प्रतिक्रिया