गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प हुँदा कम्पनीको आम्दानी, नगद प्रवाह र ऋण सेवा क्षमतामा दबाब परेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीले नेप्सेलाई दिएको जानकारीअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन गरी कम्पनीमा १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ। आयोजना पुनः सञ्चालनमा आउन समय लागेमा नियमित आम्दानी नहुँदा ब्याज तथा किस्ता भुक्तानी व्यवस्थापनमा थप दबाब पर्न सक्ने कम्पनीले जनाएको छ। बाढीले आयोजनाका बाँधस्थलका बाहिरी संरचना, विद्युत्गृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, पक्की पुल तथा पहुँचमार्गमा क्षति पुर्‍याएको छ भने भूमिगत विद्युत्गृह लेदोले भरिनुका साथै इलेक्ट्रोमेकानिकल उपकरण र प्रसारण लाइनका तीनवटा टावरमा पूर्ण क्षति पुगेको छ। स्याफ्रुबेँसीदेखि आयोजनास्थलसम्मको करिब १६ किलोमिटर सडकखण्डका चारवटा पक्की पुल तथा पहुँचमार्गसमेत नष्ट भएकाले पुनर्निर्माण नभएसम्म पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीको भनाइ छ। बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्रै पुनर्निर्माण लागत र आयोजना सञ्चालनमा फर्किने समय यकिन हुने जनाइएको छ। यसैबीच कम्पनीले आयोजना संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालु रहेकाले बीमा कम्पनीलाई जानकारी गराई क्षतिपूर्ति दाबी प्रक्रिया अघि बढाएको जनाएको छ। बीमाबाट प्राप्त हुने रकम र वास्तविक पुनर्निर्माण खर्चबीचको अन्तरले कम्पनीलाई आवश्यक पर्ने थप वित्तीय स्रोत निर्धारण गर्नेछ। बाढीपछि आयोजनामा कार्यरत ९२ जना अझै बेपत्ता रहेको र खोजी तथा उद्धारका लागि सुरक्षा निकाय, पर्वतारोही, इन्जिनियर तथा टनेल विज्ञ परिचालन गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया