कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले सप्तरीका तीन प्रमुख सिँचाइ प्रणाली–चन्द्र नहर, कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा यस वर्ष समयमै पानी प्रवाह गरेको जनाएको छ। कार्यालयका अनुसार चन्द्र नहरमा असार १० गतेदेखि तथा कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा गत आइतबारदेखि पानी छाडिएको हो।
समयमै नहरमा पानी आउनु र नियमित वर्षा भइरहेकाले यस वर्ष धान रोपाइँ सहज भएको किसानहरूले बताएका छन्। कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार जिल्लामा करिब ३४ हजार ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने लक्ष्यसहित करिब एक हजार किलोमिटर लामो मूल तथा शाखा नहर सञ्चालनमा छन्। चन्द्र नहर प्रणालीबाट १० हजार ५०० हेक्टर, कोशी पम्प नहरबाट १३ हजार १०० हेक्टर तथा कोशी नहर सहायक वितरण प्रणालीबाट ११ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छउनका अनुसार नहर संरचना पुरानो भएकाले केही स्थानमा चुनौती भए पनि समयमै पानी प्रवाह गरिएको र पर्याप्त वर्षा भइरहेकाले यस वर्ष सिँचाइ अभाव नहुने अपेक्षा गरिएको छ। तर, नहर सरसफाइका लागि पर्याप्त बजेट नहुँदा आवश्यकता र प्राथमिकताका आधारमा मात्रै सरसफाइ गर्नुपर्ने अवस्था रहेको छ। चालु आर्थिक वर्षमा नहर सरसफाइका लागि २८ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षमा १७ करोड रुपैयाँ विकास बजेट प्राप्त गरेको छ। उक्त बजेटबाट पानी तान्ने पम्प मर्मत, पुराना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, चुहावट हुने स्थानमा पक्की नहर निर्माण तथा आवश्यक स्थानमा कल्भर्ट निर्माण गरिएको छ। नहरको सुरक्षा तथा रेखदेखका लागि १०९ जना दैनिक ज्यालादारी कर्मचारी परिचालन गरिएका छन् भने जिल्लाभर १९ वटा जल उपभोक्ता समिति सक्रिय रहेका छन्।
कार्यालयका अनुसार नहर किनारमा भएको अव्यवस्थित घर निर्माण र जग्गा अतिक्रमणका कारण सरसफाइ तथा मर्मत कार्यमा समस्या भइरहेको छ। अतिक्रमण हटाउन आवश्यक प्रक्रिया पूरा भइसकेको र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा व्यवस्था मिल्नेबित्तिकै अवैध संरचना हटाइने जनाएको छ। साथै, बोदेबरसाइन नगरपालिका–५ स्थित कार्यालयको करिब दुई बिघा जग्गा पनि अतिक्रमणको जोखिममा रहेकाले त्यसको संरक्षणका लागि आवश्यक तयारी अघि बढाइएको छ।

Online Arthik









