नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्साको वीरगञ्ज महानगरपालिका–४ मा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ लागतमा जग्गा खरिद गरेको छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्रमार्फत उक्त जानकारी गराएको हो।
कम्पनीका अनुसार होटल मकालु प्रालिको नाममा दर्ता रहेको कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ अन्तर्गतको कुल ८७.५३ धुर (एक हजार ४८२ वर्गमिटर) क्षेत्रफलको जग्गा खरिद गरिएको हो। जग्गाको खरिद मूल्य ३२ करोड रुपैयाँ रहेको छ भने रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत थप एक करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यससँगै जग्गा खरिदमा कम्पनीको कुल लागत ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको जनाएको छ।नेपाल लाइफले आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन असार ३२ गते सञ्चालक समितिको निर्णयअनुसार उक्त जग्गा खरिद गरेको हो। कम्पनीले जग्गालाई व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेप्सेलाई पत्र लेख्दै जग्गा खरिदसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्। सूचीकृत कम्पनीले गर्ने ठूलो रकमको सम्पत्ति खरिदलाई मूल्य संवेदनशील सूचना मानिने भएकाले कम्पनीले यस कारोबारबारे नेप्सेलाई जानकारी गराएको हो।

Online Arthik










