कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सहकार्यसँगै NIMBUZZ को अन्तर्राष्ट्रिय डेटा सेवा तथा International Driving Permit (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ। अब बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने, उच्च शिक्षाका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा व्यवसायिक प्रयोजनले नियमित विदेश आवतजावत गर्ने नेपालीका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने बैंकले जनाएको छ।

बैंकका अनुसार NIMBUZZ सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्ने वा नेटवर्क खोज्दै समय खर्च गर्नुपर्ने झन्झट हटाउँदै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सहयोग गर्नेछ भने IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउनेछ। साथै, ग्राहकहरूले यी दुवै सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ, जसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउने अपेक्षा गरिएको छ। बैंकका अनुसार यसबाट ग्राहकको समय, लागत र श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका सेवामा सहज पहुँच सुनिश्चित हुनेछ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले प्रविधिमा आधारित आधुनिक सेवा विस्तार गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस सहकार्यले ग्रामीण, अर्ध–शहरी र शहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रिय डिजिटल सेवामा पहुँच विस्तार गर्न तथा विदेश यात्रा, अध्ययन, रोजगारी र व्यवसायिक प्रयोजनका आवश्यक सेवाहरू एकीकृत डिजिटल माध्यमबाट उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया